दुलारी, मोरङ — दुलारी युवा स्पोर्टिङ्ग क्लबको आयोजनामा जारी दोस्रो दुलारी कप नकआउट फुटबल प्रतियोगितामा एस वाई सी क्लब बेलगाछी फाइनलमा प्रवेश गरेको छ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एसवाइसीले सिद्धार्थ समाज युवा क्लबलाई ट्राइबेकरमा ५–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। एसवाइसीतर्फबाट बिक्की मगर, मनिस मगर, अरुण तामाङ, अरुण शाह र सनिस राईले पेनाल्टी गोल गरेका थिए। कृष्ण खनालको प्रहार भने सफल हुन सकेन।

खेलको नायक बनेका एसवाइसीका गोलकिपर हेमन जिम्मीले दुई पेनाल्टी रोकेर टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेले। उनी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्न सफल भए।

प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज आयोजक दुलारी युवा स्पोर्टिङ्ग क्लब र गैरी युवा क्लबबीच हुनेछ। फाइनल विजेता टोलीले ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।