इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिकाे लागि भएको निर्वाचनमा दीपक ढकाल अत्यधिक मतसहित विजयी भएका छन् ।
क्षेत्रीय अधिवेशनको अन्तिम मतपरिणामअनुसार कुल १ हजार ९४ मत खसेकाे थियाे । खसेकाे मतमा ढकालले ७ सय ३४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कुमारजङ थापाले ३ सय ५७ मत प्राप्त गरे । ढकालले थापालाई ३ सय ७७ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र स्थानीयस्तरमा जनताका सुख–दुःखमा सहभागी हुँदै आएका ढकाल यसअघि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३(क) को सभापतिको जिम्मेवारीमा रहेका थिए। उनकाे नेतृत्वमा क्षेत्र नं. ३(क) मा पार्टीका गतिविधि तथा संगठनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्।
ढकालको राजनीतिक सक्रियता स्थानीय संगठन निर्माणसँगै युवापंक्तिसँगको समन्वय र पार्टीका गतिविधिलाई तल्लो तहसम्म विस्तार गर्ने प्रयासमा केन्द्रित रहेको बताइन्छ। ढकालको नाम २०७९ सालमा सुनसरी क्षेत्र नं. ३(क) बाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारका लागि समेत सिफारिस भएको थियो।
क्षेत्र नं. ३ को संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका ढकालले यसपटक प्राप्त गरेको मतले पार्टीभित्र उनको संगठनात्मक प्रभाव र कार्यकर्ताबीचको समर्थनलाई देखाएको छ। यद्यपि निर्वाचन परिणामलाई व्यक्तिगत लोकप्रियताको अन्तिम मापनभन्दा पनि महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधिहरूको मतका रूपमा बुझ्नुपर्ने कांग्रेसका नेताहरूको भनाइ छ।
क्षेत्रीय सभापतिमा निर्वाचित भएपछि ढकालसामु क्षेत्रभित्रको संगठनलाई थप व्यवस्थित बनाउने, विभिन्न तहका नेता–कार्यकर्ताबीच समन्वय कायम गर्ने तथा युवालाई पार्टी संगठनमा थप सक्रिय बनाउने चुनौती र जिम्मेवारी थपिएको छ।
सुनसरी क्षेत्र नं. ३ नेपाली कांग्रेसका लागि लामो समयदेखि महत्वपूर्ण राजनीतिक क्षेत्रका रूपमा रहँदै आएको छ। पछिल्ला निर्वाचनमा यस क्षेत्रमा कांग्रेसको राजनीतिक उपस्थिति निरन्तर चर्चामा रहँदै आएको छ।
निर्वाचित भएपछि ढकालले आफूलाई प्राप्त जिम्मेवारीलाई संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने दिशामा उपयोग गर्ने बताएका छन्।



















