इनरुवा । नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गाउँपालिकामा भएको घटनालाई सरकारले गम्भीर रूपमा नलिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा माग गरेको छ। कांग्रेसले सरकारले मृतकका परिवारसँग गरेको सहमति तत्काल कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
जिल्ला पार्टी कार्यालय इनरुवामा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गृहमन्त्रीले घटनापछि तत्काल अवस्था साम्य पार्न मृतकका परिवारसँग सहमति गरे पनि त्यसको कार्यान्वयनतर्फ सरकार उदासीन बनेको आरोप लगाए। "जनतालाई आश्वासन दिएर कार्यान्वयन नगर्ने गृहमन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ," उनले भने।
भण्डारीले देवानगञ्ज घटनामा घाइते भएकाहरूको उपचारमा समेत सरकारले गम्भीरता नदेखाएको आरोप लगाए। उपचारमा लापरबाही भएको, घाइतेलाई भेट्नसमेत नदिइएको भन्दै उनले यसले सरकारप्रति थप शंका उत्पन्न गरेको बताए।
उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, घाइतेको प्रभावकारी उपचार सुनिश्चित गर्न र पीडित परिवारसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे।
पत्रकार सम्मेलनमा कांग्रेसले देवानगञ्ज घटनालाई सामान्य रूपमा लिन नमिल्ने उल्लेख गर्दै सरकारको निष्क्रियताले पीडित परिवारमा थप अन्याय भएको दाबी गरेको छ। घटनापछि सरकारले गरेका प्रतिबद्धता पूरा नगरे सामाजिक असन्तुष्टि बढ्ने भन्दै समयमै आवश्यक कदम चाल्न आग्रह गरिएको छ।
कांग्रेसले घटनालाई ढाकछोप गर्ने वा सामसुम पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै सरकार सहमतिको कार्यान्वयनमा तत्काल नलागे जिल्ला कांग्रेसको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्ज बजारमा साउन १०/११ गते साउने सोमबारको बोलबम यात्रा तथा झण्डा र डीजे बजाउने विषयलाई लिएर दुई समुदायबीच हिंसात्मक झडप भएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर अहिले सम्म सुनसरीमा ३ र सिरहामा १ गरी ४ जनाको मृत्यु भईसकेकाे छ ।  सुरक्षाकर्मी सहित दुई दर्जनभन्दा बढी घाइते भएका छन् । उनिहरुकाे उपचार बिराटनगर, धरान , काठमाडौं लगायतकाे अस्पतालमा उपचार भइरह छ ।