इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा देशभर पार्टीको नयाँ नेतृत्व र संगठनात्मक समीकरणबारे बहस सुरु भएको छ। केन्द्रदेखि वडा तहसम्म नेतृत्व चयनको तयारी भइरहेका बेला सुनसरीको राजनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र इटहरीमा पनि अबको कांग्रेस कसले हाँक्ने भन्ने प्रश्नले विस्तारै आकार लिन थालेको छ।

कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत भदौ २४ गते देशभर गाउँ– नगर वडा अधिवेशन र भदौ २७ गते गाउँ–नगरपालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। त्यसपछि प्रदेशसभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय तथा जिल्ला अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।

इटहरी उपमहानगरपालिकाको राजनीतिक प्रभाव र मतदाताको आकारका कारण नगर कांग्रेसको नेतृत्व केवल पार्टी संगठनको आन्तरिक विषय मात्र मानिँदैन। आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा कांग्रेसको सम्भावित प्रदर्शनसँग पनि नगर नेतृत्व जोडिन्छ।

त्यसैले अहिले इटहरी कांग्रेसभित्र उठेको प्रश्न सामान्य छैन,हेमकर्ण पौडेलपछि इटहरी कांग्रेस कसको नेतृत्वमा जाने ?

अहिले चर्चामा आएका नाममध्ये कोविदजंग कार्की, बालकृष्ण विष्ट, शिवराज दाहाल र विकास केसी अगाडि देखिएका छन्। यीमध्ये कसैले अन्तिम रूपमा उम्मेदवारी दिन्छन् वा थप नयाँ नाम मैदानमा आउँछन् भन्ने अझै निश्चित भइसकेको छैन। तर यी नामको चर्चाले भने इटहरी कांग्रेसभित्र आगामी नेतृत्वको सम्भावित तस्वीर कोर्न थालेको छ।

हेमकर्ण पौडेल इटहरी कांग्रेसको राजनीतिमा लामो समयदेखि प्रभावशाली नाम हुन्। इटहरी नगरपालिका हुँदादेखि नै कांग्रेसको नगर नेतृत्वमा रहेका पौडेल उपमहानगर बनेपछि पनि लगातार नेतृत्वमा रहे।

२०७८ को १४औँ महाधिवेशनअन्तर्गत भएको नगर अधिवेशनमा पौडेलले विकास केसीलाई ४२ मतले पराजित गर्दै पुनः सभापति निर्वाचित भएका थिए। कुल ४८२ मत खसेकामा पौडेलले २५३ र केसीले २११ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा कोविदजंग कार्की र बालकृष्ण विष्ट उपसभापतिमा निर्वाचित भएका थिए। 

यसअघि पनि पौडेलले नगर सभापतिको जिम्मेवारी सम्हालिसकेका थिए। लामो समय संगठनको नेतृत्व गरेपछि उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट इटहरी उपमहानगरपालिकाको प्रमुख निर्वाचित भए। हाल उनी इटहरी उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा कार्यरत छन्। पौडेलको राजनीतिक यात्राको एउटा महत्वपूर्ण पक्ष के हो भने उनले पार्टी संगठन र स्थानीय सरकार दुवै तहमा आफ्नो प्रभाव विस्तार गरेका छन्। उनका समर्थकहरू उनको नेतृत्वमा कांग्रेसले इटहरीमा संगठनात्मक गति लिएको दाबी गर्छन्। आलोचकहरू भने संगठनभित्रको आन्तरिक दूरी, गुटगत प्रतिस्पर्धा र कार्यकर्ताबीचको असन्तुष्टिलाई पनि त्यत्तिकै महत्वपूर्ण पक्ष मान्छन्।

यही कारण पौडेलपछि आउने नगर सभापति उनको राजनीतिक उत्तराधिकारी मात्र होइन, इटहरी कांग्रेसको नयाँ राजनीतिक शैलीको प्रतिनिधि बन्नुपर्ने दबाबमा हुनेछन्।

25755

चर्चामा रहेका नाममध्ये कोविदजंग कार्की हेमकर्ण नेतृत्वसँग सबैभन्दा लामो संगठनात्मक सहकार्य गरेका नेतामध्ये एक हुन्।

कांग्रेस र तत्कालीन फोरम लोकतान्त्रिकबीच एकता भएपछि कार्की इटहरी कांग्रेसको सहसभापति बनेका थिए। फोरम लोकतान्त्रिकमा रहँदा उनी इटहरी नगर नेतृत्वमा थिए। पार्टी समायोजनपछि कांग्रेसको मूल संगठनमा उनको भूमिका विस्तार भएको देखिन्छ। 

२०७८ को नगर अधिवेशनमा उनी हेमकर्ण पौडेल पक्षबाट उपसभापतिमा निर्वाचित भए। पौडेल मेयरको उम्मेदवार बनेपछि नगर सभापतिको जिम्मेवारीबाट बाहिरिँदा कार्कीले कार्यवाहक सभापतिको भूमिका पनि निर्वाह गरेका थिए। कार्कीको राजनीतिक पूँजी भनेको संगठन सञ्चालनको प्रत्यक्ष अनुभव र विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका कार्यकर्तालाई कांग्रेसको मूलधारमा समेट्ने क्षमता हो।

२०७९ को स्थानीय निर्वाचनअघि कांग्रेसको चुनावी तयारीमा पनि कार्यवाहक सभापतिको हैसियतमा कार्की सक्रिय देखिएका थिए। पछिल्लो समय पनि कार्की सार्वजनिक गतिविधिमा देखिन्छन्। बेलाबेला इटहरीको सामुदायिक शिक्षा सुधारका विषयमा उनको धारणा र सक्रियता सार्वजनिक गर्ने गरेका छन् । तर कार्कीका लागि चुनौती पनि उत्तिकै छ। उनी लामो समय पौडेल नेतृत्वको संरचनाको हिस्सा रहेकाले कार्यकर्ताले उनलाई निरन्तरताको उम्मेदवार का रूपमा हेर्छन् कि स्वतन्त्र राजनीतिक नेतृत्वको विकल्प का रूपमा, त्यसले उनको सम्भावनालाई प्रभावित गर्न सक्छ।

25754

बालकृष्ण विष्ट इटहरी कांग्रेस सभापतिको अर्को सम्भाबीत नाम हुन्।

विष्टको राजनीतिक परिचय वडा तहको नेतृत्वबाट समेत बनेको हो। उनी इटहरी–३ का वडाध्यक्षका रूपमा निर्वाचित भइसकेका व्यक्ति हुन्। २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले जितेका वडामध्ये वडा नम्बर ३ मा विष्ट निर्वाचित भएका थिए। २०७८ को नगर अधिवेशनमा उनी उपसभापतिमा निर्वाचित भए। यसरी उनले नगर संगठनको नेतृत्व तहमा पनि काम गर्ने अवसर पाए। त्यसपछि हेमकर्ण पौडेल बाहिर रहेका बेला २०८० मा उनलाई नगर सभापतिको कार्यवाहक जिम्मेवारीसमेत दिइएको थियो। यसले विष्टको राजनीतिक परिचयलाई दुई तहमा स्थापित गर्छ—वडा तहको प्रत्यक्ष जनप्रतिनिधित्व र नगर संगठन सञ्चालनको अनुभव।

तर विष्ट र पौडेल नेतृत्वबीच विगतमा मतभेद पनि सार्वजनिक भएका छन्। २०७९ मा पार्टीभित्रको विधि, प्रक्रिया र संगठन सञ्चालनका विषयमा विष्ट पक्षले छुट्टै भेला आयोजना गरेको थियो। 

इटहरी कांग्रेसका कार्यकर्ताले नगर संगठनमा शक्ति सन्तुलन, आन्तरिक लोकतन्त्र र नेतृत्व परिवर्तन लाई प्राथमिकता दिए भने विष्टको दाबी बलियो हुन सक्छ। तर त्यसका लागि विगतको असन्तुष्टिलाई व्यापक संगठनात्मक समर्थनमा रूपान्तरण गर्नुपर्ने चुनौती उनको अगाडि छ।

25753

विकास केसी इटहरी कांग्रेसको नेतृत्व बहसमा नयाँ नाम होइनन्। बरु उनी लामो समयदेखि सभापति पदका प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

२०७८ को नगर अधिवेशनमा पौडेलसँग प्रतिस्पर्धा गरेका केसीले २११ मत पाएका थिए। पौडेलले २५३ मत पाएका कारण केसी ४२ मतले पराजित भए। यो उनको पहिलो प्रतिस्पर्धा भने थिएन। त्यसअघि पनि उनी पौडेलसँग नगर सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका थिए। तर केसीको राजनीतिक यात्रा नगर सभापतिको निर्वाचनबाट मात्र बनेको होइन।

उनले २०५२ सालदेखि इटहरीमा राजनीतिक यात्रा सुरु गरेका थिए। नेविसंघको सदस्य हुँदै जनता बहुमुखी क्याम्पसको स्ववियुमा विभिन्न जिम्मेवारी सम्हालेका उनी नेविसंघको जिल्ला नेतृत्व हुँदै केन्द्रीय उपसभापतिसम्म पुगेका थिए। त्यसैले केसीको दाबीको आधार विद्यार्थी राजनीति, संगठनात्मक अनुभव र लामो समयदेखि इटहरी कांग्रेसमा सक्रियता हो।

२०७८ को निर्वाचनमा पराजित भए पनि उनले उल्लेख्य मत पाएका थिए। त्यतिबेला उनको पक्षबाट सचिव र सहसचिवलगायत पदमा पनि प्रतिनिधित्व भएको थियो। 

अर्कोतर्फ, केसी अहिले जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षका रूपमा पनि सार्वजनिक गतिविधिमा देखिन्छन्। २०८० मा भएको सञ्चालक समिति निर्वाचनमा उनले ३५२ मत प्राप्त गरेका थिए। यसकारण केसीका लागि आगामी अधिवेशन एउटा राजनीतिक पुनरागमनको अवसर हुन सक्छ। तर उनको सबैभन्दा ठूलो प्रश्न पनि यही हो—दुईपटकको प्रतिस्पर्धापछि अहिले उनले आफ्नो संगठनात्मक आधार कति विस्तार गरेका छन् ?

यदि उनले विगतको पराजयबाट संगठन विस्तार, वडा तहमा सम्बन्ध विस्तार र नयाँ पुस्तासँग संवाद बढाएका छन् भने यसपटकको प्रतिस्पर्धा पहिलेभन्दा फरक हुन सक्छ।

25756

शिवराज दाहालको नाम अरू तीन नामको तुलनामा केही फरक कोणबाट चर्चामा आएको देखिन्छ।

दाहाल कांग्रेसको स्थानीय संगठनमा सक्रिय रहँदै आएका छन् भने शैक्षिक तथा सामाजिक संस्थासँग जोडिएको उनको भूमिका पनि सार्वजनिक छ। जनता बहुमुखी क्याम्पसको सञ्चालक समितिमा उनी सदस्यका रूपमा रहेका छन्। क्याम्पस सञ्चालक समिति निर्वाचनमा पनि दाहालले २९९ मत प्राप्त गरेका थिए। 

यसले दाहालको सम्भावित राजनीतिक आधारलाई पार्टी संगठनबाहिरका संस्थागत सम्बन्धसँग पनि जोड्छ। सभापतिको निर्वाचनमा सबैभन्दा निर्णायक कुरा भनेको वडा तहको संगठन हो। त्यसैले दाहालका लागि आफ्नो संस्थागत र सामाजिक सम्पर्कलाई कांग्रेसको क्रियाशील सदस्य र वडा प्रतिनिधिको मतमा रूपान्तरण गर्नु मुख्य चुनौती हुनेछ।

यदि पार्टीभित्र पुराना समूहभन्दा बाहिरबाट नयाँ समीकरण निर्माण गर्ने प्रयास भयो भने दाहालको नाम त्यसको केन्द्रमा आउन सक्छ।

अहिले सतहमा चार नाम आए पनि कांग्रेसको आन्तरिक निर्वाचनमा चर्चाले मात्र परिणाम निर्धारण गर्दैन। अन्तिम परिणाम वडा तहबाट आउने प्रतिनिधिको राजनीतिक प्राथमिकता, समूहगत समीकरण, व्यक्तिगत सम्बन्ध र उम्मेदवारको संगठनात्मक पहुँचले निर्धारण गर्नेछ।

यसपटकको विशेषता भनेको कांग्रेसको पुरानो पुस्तासँगै नयाँ पुस्ताको दबाब पनि बढ्नु हो।

देशको राजनीतिमा युवापुस्ताले परम्परागत राजनीतिक शैलीमाथि प्रश्न उठाइरहेको अवस्थामा कांग्रेसको स्थानीय संगठन पनि त्यसबाट अछुतो रहने सम्भावना छैन । 

इटहरी ठूलो र तीव्र रूपमा विस्तार भइरहेको सहर हो। यहाँ पुरानो राजनीतिक सम्बन्धसँगै व्यवसायी, विद्यार्थी, युवा, पेशाकर्मी र नयाँ मतदाताको भूमिका बढ्दै गएको छ।

त्यसैले अबको नगर सभापतिले केवल पार्टी कार्यालय चलाएर पुग्दैन। सामाजिक सञ्जालमा देखिने, वडा तहमा पुग्ने, युवासँग संवाद गर्ने, असन्तुष्ट कार्यकर्तालाई फर्काउने र निर्वाचनका बेला संगठनलाई एकीकृत गर्न सक्ने नेतृत्व आवश्यक हुनेछ।