सुनसरी निर्वाचन क्षेत्र नम्बर –२ नेपाली काँग्रेसतर्फका उमेदवार राजिव कोईरालाले इटहरी क्षेत्रमा वर्षेनी दोहोरिने बाढी समस्यालाई समाधान गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताए । कोईरालाले भने“विशेषगरी बुढी खोला, ट्राङ्गग्रा खोला, सेरा खोला, खेती खोला लगायतका खोलामा बर्खा याममा पानीको बहाव बढ्दा आसपासका बस्ती डुबानमा पर्ने गरेका छन्।” स्थानीय तहका तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा मनसुनको समयमा सयौँ घरधुरी प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ,भने कृषियोग्य जमिनमा क्षति पुग्दै आएको छ ।

उनले जोखिमयुक्त क्षेत्रको वैज्ञानिक अध्ययन, तटबन्ध निर्माण, खोलाको नियमित सफाइ तथा दीर्घकालीन जल व्यवस्थापन गुरुयोजना तयार गरी संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। “बाढीको जोखिम न्यूनीकरण बिना इटहरीको दिगो विकास सम्भव छैन,” उनले भने।

पूर्व–पश्चिम राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा रहेको इटहरी पछिल्लो समय कोशी प्रदेश को प्रमुख ट्रान्जिट सहरका रूपमा विकास हुँदै गएको छ। दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने यस सहरमा व्यापार, होटल व्यवसाय र सेवा क्षेत्रमा तीव्र वृद्धि भइरहेको छ।

कोइरालाले ट्रान्जिट सहरको यो अवसरलाई सदुपयोग गर्दै पर्यटकमैत्री पूर्वाधार विकास गर्ने योजना अघि सारे। “इटहरीलाई केवल आवतजावत गर्ने सहर होइन, केही समय बस्न र घुम्न चाहिने गन्तव्य बनाउनु पर्छ,” उनले बताए।

इटहरी–४ स्थित बुढी खोला किनारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र मानिन्छ। त्यसैगरी नयाँ बृन्दावन गौशाला लाई धार्मिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ छ। उनले “यी दुई धार्मिक स्थललाई जोडेर ‘धार्मिक पर्यटन करिडोर’ निर्माण गर्ने, पूर्वाधार सुधार, पार्किङ व्यवस्थापन, सरसफाइ र प्रचार–प्रसारलाई सुदृढ बनाउने योजना अघि सारे। यसबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरेका छन् । 

इटहरी–२ र ३ वडामा रहेको तालतलैया सिमसार जैविक विविधता र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण स्थल हो। पछिल्लो समय यहाँ पिकनिक, डुङ्गा सयर र अवलोकनका लागि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ।

कोइरालाले तालतलैयालाई थप व्यवस्थित गरी सुरक्षित पैदलमार्ग, सूचना केन्द्र, बालउद्यान तथा सरसफाइ व्यवस्थापन सुधार गर्ने योजना अघि सारे। “तालतलैयालाई प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने गरी काम गरिनेछ,” उनले बताए।

पर्यटन प्रवद्र्धन र व्यवस्थित शहरी विकासमार्फत इटहरीको आन्तरिक आय बढाउने लक्ष्य लिइएको उनले बताए। होटल, यातायात, कृषि तथा साना उद्यमलाई जोडेर रोजगारी सिर्जना गर्ने र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने उनको भनाइ छ।

स्थानीयले भने बाढी नियन्त्रण र पूर्वाधार विकासका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । इटहरीलाई सुरक्षित, व्यवस्थित र समृद्ध सहर बनाउने उद्देश्यसहित अघि सारिएका यी योजनाले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ।