इटहरी । लोकतान्त्रिक खेलकुद संघ इटहरी नगर समितिका अध्यक्ष दिपेन्द्र तामाङले इटहरी नगरभित्र सक्रिय रूपमा फुटबल खेल गतिविधिमा संलग्न विभिन्न क्लबहरूलाई फुटबल हस्तान्तरण गरेका छन्।

खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै युवालाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले इटहरीको शान्ति नगर युवा क्लब र इटहरी फुटबल क्लबलाई फुटबल प्रदान गरिएको हो। उक्त कार्यक्रम इटहरीमा आयोजित एक संक्षिप्त कार्यक्रममा सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सकारात्मक सोचतर्फ डोर्‍याउने बताउँदै नगरभित्र खेलकुद गतिविधिलाई थप व्यवस्थित र सक्रिय बनाउन लोकतान्त्रिक खेलकुद इटहरी निरन्तर लागिरहेको बताए।

IMG-20251226-WA0000

“इटहरी नगरलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। त्यसका लागि यहाँ रहेका क्लबहरूलाई आवश्यक सहयोग गर्दै आएका छौं र यो क्रम निरन्तर रहनेछ,” अध्यक्ष तामाङले भने।

फुटबल प्राप्त गर्ने क्लबका प्रतिनिधिहरूले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले खेलाडीहरूको मनोबल बढ्ने र अभ्यासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

लोकतान्त्रिक खेलकुद इटहरीले यसअघि पनि नगरभरिका विभिन्न खेलकुद क्लब तथा युवा समूहहरूलाई सामग्री सहयोग, प्रतियोगिता आयोजना तथा समन्वय गर्दै आएको जनाएको छ। आगामी दिनमा फुटबल मात्र नभई अन्य खेल विधामा पनि सहयोग विस्तार गर्ने योजना रहेको अध्यक्ष तामाङले जानकारी दिए।