आज विश्व माटो दिवस मनाइँदै छ । आजै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि मनाइँदैछ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान हरेक वर्ष मनाइन्छ । माटो दिवसको यस वर्षको नारा ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ तय गरिएको छ । स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा माटो दिवस मनाउने गरिएको छ । विश्वभर माटो संरक्षण, दिगो कृषि व्यवस्था तथा जलवायु परिवर्तनको प्रभाव कम गर्न आवश्यक उपायहरूबारे बहस र अभियान यो दिवसमा सञ्चालन हुने गरेका छन् ।

कृषि उत्पादन, वातावरणीय सन्तुलन र समग्र मानव अस्तित्वमा माटोको भूमिका महत्वपूर्ण भएकाले माटो संरक्षण र दिगोपनलाई प्राथमिकतामा राख्न यो दिवसले विश्व समुदायलाई स्मरण गराउने उक्त विश्व संस्थाले जनाएको छ । सन् २०१३ जुनमा राष्ट्रसंघले विश्व माटो दिवस मनाउने घोषणा गरेको हो । कृषक, सरकार, वैज्ञानिक समुदाय र आम नागरिकलाई माटोको संरक्षणतर्फ सचेत र सक्रिय बनाउने यो दिवसको लक्ष्य हो ।

यसैगरी स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।राष्ट्रसंघका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसंघका स्वयंसेवकहरू क्रियाशील छन् ।