इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले पछिल्लो आन्दोलनपछि कार्यालयमा भएको क्षतिको अनुगमन गर्नु भएको छ। यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछिको तोडफोड र आगजनीले उपमहानगरपालिकाको प्रशासनिक भवन, फर्निचर, कागजात, कम्प्युटरलगायत महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्याएको छ।
नगर प्रमुख पौडेलसँगै उपप्रमुख र विभिन्न वडा अध्यक्ष , सुरक्षाकर्मी र कर्मचारीहरूको टोलीले क्षतिको विवरण संकलन गरेका छन्। घटनास्थलमा व्यापक आगजनी र तोडफोडका कारण कार्यालयका महत्वपूर्ण कामकाज ठप्प भएको छ।
भुइँमै कार्यपालिका बैठक
तोडफोडपछि इटहरी उपमहानगरपालिकाको कार्यपालिकाको आकस्मिक बैठक भदौ ३१ गते कार्यालय परिसरको खुला भुइँमै सम्पन्न गरिएको थियो। आगजनीबाट नगरपालिकाको बैठक हल पूर्णरूपमा जलेर नष्ट भएकाले वैकल्पिक व्यवस्था स्वरूप खुला स्थानमा बैठक राखिएको हो। बैठकमा आन्दोलनको असर, क्षतिको विवरण, र आगामी कदमहरूबारे छलफल भएको थियो।
सेवाप्रवाह यथासक्य चाँडो सञ्चालन हुने
मेयर पौडेलले स्थानीय जनताको सेवामा कुनै बाधा नआओस् भन्ने उद्देश्यले ‘पाल टाँगेर भए पनि सेवा सुचारु गरिने’ स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “जनताको कामलाई अबरुद्ध हुन दिइन्न। हामी अस्थायी व्यवस्थाबाट भए पनि सेवा दिन थाल्नेछौं।”
उहाँले संघीय सरकार र प्रदेश सरकारसँग पनि सहयोगको माग गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उपमहानगरपालिकाले तत्कालका लागि अस्थायी सेवा केन्द्रहरू स्थापना गर्ने, नष्ट भएका अभिलेखहरूको पुनःनिर्माण प्रक्रिया सुरु गर्ने, र सुरक्षाको लागि सिसिटिभी तथा अतिरिक्त सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ।




















