इनरुवा : जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण इनरुवा नगरपालिकामा पुगेको क्षतिको स्थलगत अवलोकन गर्न इनरुवा नगरपालिका प्रमुख तथा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले आज अनुगमन गर्नुभयो।

नगरपालिका कार्यालयदेखि लिएर आफ्नै निजी निवाससमेत आन्दोलित समूहद्वारा क्षति पुर्‍याइएको अवस्थामा पुगेको जानकारी दिँदै मेयर भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। ूनगरपालिकाको कार्यालय मात्र होइन, मेरो निजी घरसमेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस्तो हिंसात्मक बाटोबाट जनताको समस्या समाधान हुँदैन, उहाँले भन्नुभयो।

अनुगमनका क्रममा मेयर भण्डारीले आन्दोलनको नाममा सार्वजनिक र निजी सम्पत्तिमा गरिएको क्षति दुःखद र दुर्भाग्यपूर्ण भएको बताउनुभयो। उहाँले यस्ता गतिविधिहरूले लोकतान्त्रिक मूल्य र मर्यादामा आँच पुर्‍याउने भन्दै जनतालाई संयमित रहन आग्रह गर्नुभयो।

यद्यपि, यस कठिन परिस्थितिमा पनि नगरपालिकाले सेवा प्रवाह यथाशक्य चाँडो पुनः सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी मेयर भण्डारीले दिनुभयो। “जनताको काम रोकिनु हुँदैन। भोलीदेखि नै आवश्यक सेवा सुचारु गर्ने तयारी भइरहेको छ,” उहाँले स्पष्ट गर्नुभयो।

स्थानीय सुरक्षाकर्मीको सहयोगमा नगरपालिका परिसर र आसपासको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। आन्दोलनकारीले मेयरको घरमा समेत आगजनी गर्दा परिवारका सदस्यहरू सुरक्षीत रहेको जनाइएको छ, यद्यपि घरमा ठूलो क्षति पुगेको छ।

घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।