निजी विद्यालय सञ्चालक संगठनहरूले देशभर भएको जेनजी आन्दोलनका कारण अवरुद्ध पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
नेपाल मन्टेश्वरी एशोसिएसन (एनएमए), अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आइतबारदेखि अनुकूलतालाई हेरी क्रमशस् विद्यालय खोल्दै जाने निर्णय भएको जानकारी गराएका हुन् ।
विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका विद्यार्थी, युवा, प्रहरी र सर्वसाधारण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।
आन्दोलनमा सयौँ विद्यार्थी, प्रहरी र सर्वसाधारण घाइते भएको र खरबौँको सार्वजनिक तथा निजी सम्पत्तिको क्षति पुगेको घटनाले स्तब्ध भएको जनाउँदै विज्ञप्तिमा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुका साथै घाइतेहरूको उपचारको प्रबन्ध तत्काल गर्न सरकारसँग माग गरिएको छ। साथै, घाइते तथा अभिभावक गुमाएका विद्यार्थीहरूको अध्ययनमा छात्रवृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता शैक्षिक संघसंस्थाहरूले जनाएका छन्।
अन्तरिम सरकार गठन भइसकेको र स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाउँदै गएको अवस्थामा अब परिस्थिति क्रमशः सामान्य हुँदै जाने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा अभिभावक, शिक्षक, विद्यार्थी र नागरिक समाजलाई संयमित रहन अपिल गरिएको छ।




















