अध्यागमन विभागले अनुमान, शङ्का र यात्रुको भौतिक हैसियतको आधारमा कुनै नेपाली नागरिकलाई विभेदपूर्ण व्यवहार नगर्ने स्पष्ट गरेको छ । विभागले आइतबार पत्रकार सम्मेलन गर्दै वैध राहदानी, भिसा, टिकट, होटल बुकिङ्ग वा आफन्तसँग बस्ने प्रमाण लगायतका आवश्यक कागजात बोकेर आउने यात्रुलाई अनावश्यक रोकावट नहुने जनाएको हो ।

विभागका अनुसार, अध्यागमन अधिकृतले पर्यटकीय प्रकृतिका भिसामा प्रस्थान गर्ने नेपाली नागरिकलाई शङ्काको आधारमा मात्र अनुसन्धान नगरी कानुन बमोजिम तथ्यगत जानकारी वा ठोस आधार रहेमा मात्र छानबिन गर्ने व्यवस्था गरिएको छ ।  डलर सटही, आवश्यक परेमा स्वघोषणा र वैध कागजात मात्र प्रयोग गर्न आग्रह गरेको छ । ’नक्कली वा फर्जी कागजात प्रयोग गरी यात्रा गर्ने व्यक्तिलाई प्रस्थान अनुमति नदिइने मात्र नभई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,’ विभागले भनेको छ ।