बलिउड निर्देशक मोहितले यति वेला बलिउडमा राज गरिरहेका छन् । भर्खरै रिलिज भएको फिल्म ‘सैयारा’मार्फत उनले बलिउडलाई दुई नयाँ कलाकार दिए । यी दुई कलाकारको लोकप्रियता बलिउडमा पहिला नै स्थापित कुनै ठुला स्टारजत्तिकै धेरै भएको छ । फिल्मले करोडौं दर्शकको मनमा राज गरिरहेको छ । बक्स अफिसमा यसले भटाभट कलेक्सन गरिरहेको छ । फिल्मको कमाइ निरन्तर बढिरहेको छ । फिल्मले आफ्नो नाममा अर्को नयाँ रेकर्ड पनि बनाएको छ ।
सैयाराु बक्स अफिसमा सरप्राइज बनेर आयो । यसको अगाडि नाम चलेका ठुला स्टारको फिल्म पनि टिकेन । फिल्मप्रति मानिसहरूको क्रेज यति धेरै थियो कि दोस्रो हप्तामा पनि बक्स अफिसमा फिल्मको पकड बलियो छ । दोस्रो शनिबार फिल्मको कमाइमा ठुलो उछाल देखिएको छ । स्याकनिल्कको रिपोर्टअनुसार फिल्मले नवौं दिनमा लगभग साढे २६ करोड भारुको नेट कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाइ २१७ करोड २५ लाख भारु पुगेको छ ।
आधिकारिक रूपमा २०० करोड क्लबमा प्रवेश गर्ने यो यस वर्षको दोस्रो फिल्म हो । फिल्मको कमाइको ट्रेन्ड हेर्दा यो अझै पर पुग्ने देखिन्छ । मोहित सुरीको यो फिल्म विक्की कौशलको ‘छावा’पछि यो वर्ष २०० करोड क्लबमा सबैभन्दा छिटो छिर्ने दोस्रो फिल्म बनेको हो । सैयाराुले पछिल्लो १५ वर्षमा बलिउडमा बनेका प्रेमकथाहरूको रेकर्ड पनि तोडेको छ ।




















