इटहरी। “आत्मनिर्भर महिला, समृद्ध समाज” भन्ने मूल नाराका साथ इटहरी उपमहानगरपालिकाले महिलाहरूलाई स्वरोजगारमा जोड्ने उद्देश्यले विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ। यसै सन्दर्भमा उपमहानगरपालिका वडा नम्बर १२ खनारमा सात दिने अचार बनाउने तालिम सुरु गरिएको छ।
घरेलु उत्पादनलाई व्यवसायिक रूपमा विस्तार गर्न र महिलाहरूको आम्दानी वृद्धि गर्न लक्षित तालिममा स्थानीय २४ जना महिलाहरू सहभागी भएका छन् । उनीहरूलाई मेथी, च्याउ, मासु लगायतका परिकारबाट अचार बनाउने सीप सिकाइँदैछ । तालिम महिला तथा बालबालिका सरोकार केन्द्र, इटहरी–८ को आयोजनामा तथा वडा नम्बर १२ को सहकार्यमा सञ्चालित हो।
तालिमकी प्रशिक्षक सविता दाहालका अनुसार हालका दिनमा घरमै बनाइएका अर्गानिक परिकारको बजारमा माग तीव्र हुँदै गएको छ। “यही मागलाई मध्यनजर गर्दै हामीले महिलाहरूलाई घरेलु सीपलाई व्यवसायिक रूपमा रूपान्तरण गर्न तालिम दिइरहेका छौं”उहाँले भन्नुभयो । प्रशिक्षक दाहालले तालिमपछि महिलाहरूले आफ्नै नाममा अचारको ब्रान्ड निर्माण गर्दै विक्री वितरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय किशोरी वास्तोलाका अनुसार यस्तो तालिमले महिलाहरूको सीप विकास मात्रै होइन, आत्मबल बढाउने, आर्थिक स्वतन्त्रता दिलाउने र सामाजिक रूपान्तरणमा समेत योगदान पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो,“अब हामीले घरमै बसेर पनि केही गर्न सकिन्छ, आर्थीक रुपमा सक्षमहुन हुन सकिन्छ ।”भविष्यमा सामूहिक रूपमा साना उद्यम सञ्चालन गर्ने योजना समेत महिलाहरूको समूहले बनाइसकेको बताउनु भएको छ ।
इटहरी—१२का वडा अध्यक्ष भुवनराज पोख्रेलले तालिमले महिलाहरूलाई सशक्त बनाउँदै स्वरोजगारको बाटो देखाउने बताउनु भयो। उहाँले भन्नुभयो,“हामी महिलालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।” अध्यक्ष पोख्रेलले यसअघि पनि उपमहानगरपालिकाले बेकरी तालिम, सिलाइ–कटाइ तालिम, माकुराचुलो निर्माणजस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेको जानकारी दिनुभएको छ।




















