इटहरी: शिक्षा केवल किताबी ज्ञानमा सीमित नहोस्, व्यवहारिक अभ्यासबाट जीवन उपयोगी बनोस् भन्ने उद्देश्यले इटहरीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले असार १५ का अवसरमा विशेष ‘फुड फेयर एण्ड प्रोजेक्ट वर्क प्रदर्शनी’ आयोजना गरेको छ।
विद्यार्थीहरूले परम्परागत सीप, मौलिक खाना र आधुनिक उद्यमशीलताको समिश्रणसहित प्रस्तुत गरेको प्रदर्शनीले शिक्षा प्रणालीको रूपान्तरणमा सन्देश दिएको छ। १५ वटा स्टल राखिएको प्रदर्शनीमा कक्षा १२ का विज्ञान, व्यवस्थापन, शिक्षा, होटल म्यानेजमेन्ट र सिभिल इन्जिनियरिङका विद्यार्थीले आ-आफ्ना समूहगत परियोजना प्रस्तुत गरेका थिए।

प्रदर्शनीमा "शिक्षाको संसारबाट कामको संसारतर्फ" भन्ने नारालाई आत्मसात् गर्दै विद्यार्थीहरूले घरमै बनाएका मौलिक परिकार जस्तै दही चिउरा, सेलरोटी, ढिक्री जस्ता परिकार पस्किए। असार १५ अर्थात् ‘धान दिवस’ को सन्दर्भलाई प्रयोग गर्दै उनीहरूले नेपाली परम्परालाई व्यवहारिक शिक्षा र उद्यमका सन्दर्भमा पुनः उजागर गर्न खोजेका थिए।
फुड फेयरमा सहभागी अस्मी राईले भनिन्, "हामी नेपाली मौलिक खानाको महत्व बिर्संदै गइरहेका छौं। यस्तो कार्यक्रमले त्यसलाई फेरि सम्झाउने प्रयास हो।"
विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले छोटो समयको सूचना पाएको बाबजुद विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका बताए। उनले भने, “कक्षामा पढाइएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने यो अभ्यास विद्यार्थीको भविष्य निर्माणका लागि महत्वपूर्ण हुनेछ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीका अनुसार अब प्रत्येक वर्ष यस्ता कार्यक्रमहरू निरन्तर गर्ने योजना रहेको छ। सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले तीनवटा स्टल ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत INSURE/Helvetas को सहकार्यमा गरिएको जानकारी दिइन्।
प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, अभिभावक, गाउँले तथा आसपासका शैक्षिक संस्थाबाट ठूलो संख्यामा सहभागिता रहेको थियो।




















