चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाको यथार्थ आय एक अर्ब २४ करोड रुपैयाँले घटेको छ । आव २०८१र०८२ जेठ मसान्तसम्मको तथ्यांकमा महानगरको आयमा कमी देखिएको हो । संघ र प्रदेशका अनुदान घट्नुका साथै आन्तरिक आयमा समेत गुणात्मक सुधार हुन नसक्दा विकास खर्च समेत खुम्चिएको छ । आव २०८१र०८२ का निम्ति संशोधित कुल आय तीन अर्ब ५० करोड ३० लाख ८६ हजार रुपैयाँ अनुमान गरिएको थियो । जेठ मसान्तसम्म दुई अर्ब २६ करोड ३५ लाख २३ हजार अर्थात् ६५ प्रतिशत मात्र यथार्थ आय भएको छ ।

संघ सरकारको वित्तीय समानीकरण अनुदानबापत ३२ करोड ६६ लाख अनुमान गरिएको थियो । जबकि, २९ करोड ९६ लाख ८८ हजार मात्र प्राप्त भयो । प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबापत दुई करोड ४९ लाख २९ हजार अनुमान थियो । तर, दुई करोड ४९ लाख २९ हजार प्राप्त भएको छ ।

आव २०८१र०८२ जेठ मसान्तसम्म संशोधित कुल व्यय तीन अर्ब ५० करोड ३० लाख ८६ हजार रुपैयाँ अनुमान गरिएको थियो । जेठ मसान्तसम्म एक अर्ब ७३ करोड ८३ लाख ९३ हजार ९० रुपैयाँ अर्थात् ५० प्रतिशत मात्र यथार्थ व्यय भएको जनाइएको छ । त्यसमध्ये चालु खर्चतर्फ एक अर्ब ७८ करोड १५ लाख ८६ हजार ७०० रुपैयाँ अनुमान गरिएको थियो । एक अर्ब २० करोड २३ लाख ३६ हजार ४३८ रुपैयाँ अर्थात् ६७ प्रतिशत मात्र खर्च भएको छ ।

पुँजीगततर्फ एक अर्ब ६७ करोड १४ लाख ९९ हजार ३०० रुपैयाँ अनुमान गरिएको थियो । ५१ करोड नौ लाख ८० हजार ४८८ रुपैयाँ अर्थात् ३१ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय खर्चतर्फ पाँच करोड रुपैयाँ अनुमान गरिएको थियो । ०८२ जेठ मसान्तसम्म दुई करोड ५० लाख ७६ हजार १६४ रुपैयाँ खर्च भएको उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् ।