सुनसरीको इटहरी उपमहानगरपालिकाले  आगामी आर्थिक वर्षको लागि मंगलबार नै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबार दिउँसो कार्यपालिकाको बैठक बसेको छ । विगतका बजेटको लक्ष्य अनुसार आम्दानी नहुँदा भुक्तानी दायित्व थाम्नै नसक्ने अवस्थामा पुगेको इटहरी उपमहानगरपालिकाले नयाँ कार्यक्रम थप्न नसक्ने जानकारहरू बताउँछन् ।

चालू आर्थिक वर्षका लागि इटहरी उपमहानगरपालिकाले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । उक्त रकममध्ये आन्तरिक स्रोतबाट ९६ करोड आम्दानी हुने अनुमान गरिएको थियो । अन्य बजेट सङ्घीय सरकार र प्रदेश सरकारको चालू र पूँजीगत अनुदान, समानीकरण, समपूरक अनुदान र नगद मौज्दातबाट व्यहोर्ने उल्लेख थियो । जसबाट चालू खर्चका लागि १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार, वित्तीय व्यवस्था अन्तर्गत ९० लाख र पुँजिगत खर्च २ अर्ब १५ करोड ६० लाख १३ हजार रुपैयाँ विनियोजन भएको थियो । उक्त लक्ष्यको तुलनामा आन्तरिक आम्दानी लक्ष्यको ५० प्रतिशत पनि पुग्न सकेको छैन । यस पटक चालू आर्थिक वर्षको भन्दा बजेटको आकार नबढ्ने बरु घट्ने सो पालिकाले जनाएको छ ।