दुलारी, जेठ ३ — दुलारी युवा स्पोर्टिङ्ग क्लबको आयोजनामा जारी दोस्रो दुलारी कप नकआउट फुटबल प्रतियोगितामा सिद्धार्थ युवा समाज, सुन्दरहरैंचा क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जेठ ३ गते सम्पन्न खेलमा सिद्धार्थले पाण्डु युवा क्लब, खनारलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। टिमका लागि एडी लिम्बू र करण लिम्बूले एक/एक गोल गरेका थिए भने पाण्डु युवा क्लबका सन्नी चौधरीले सान्त्वना गोल गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिद्धार्थका मनिराज तामाङ ‘म्यान अफ दी म्याच’ घोषित भए। आयोजकले उनलाई नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरेको थियो।

प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ। कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा विजेता टिमले ३० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिता अन्तर्गत जेठ ४ गतेको खेल आयोजक दुलारी युवा स्पोर्टिङ्ग क्लब र रामधुनी युवा क्लब, सुनसरीबीच हुने कार्यक्रम संयोजक बालकृष्ण रायमाझीले जानकारी दिएका छन्।