बुद्धहाङ्ग लिम्बु
इटहरी : गर्मी याम सुरु भएसँगै पूर्वी नेपालका विभिन्न तराई क्षेत्र धरान, इटहरी, इनरुवा, विराटनगर लगायत भारतको बिहारसम्मका मानिसहरू शितल हावापानीको खोजीमा उकालो लाग्ने गर्दछन् । अहिले उनीहरूको प्रमुख गन्तव्य नै बनेको छ धनकुटा जिल्ला साँघुरी गडी गाँउपालिकाको रमणीय डाँडा भेडेटार।
समुन्द्री सतहबाट करिब १४२० मिटरको उचाइमा अवस्थित यो क्षेत्रले गर्मीयाममा चिसो मौसमको आनन्द लिन चाहनेहरूका लागि स्वर्गजस्तै अनुभव दिन्छ।
भेडेटार मौसमीय रूपमा एकदमै अनौठो छ, यहाँ एकैदिनमा ५ देखि ६ पटकसम्म मौसम परिवर्तन हुन्छ। कहिले घाम लाग्छ, कहिले बादल लाग्छ, कहिले त झरी नै पर्छ । यिनै विविध मौसमीय परिवर्तनले पर्यटकहरूलाई लोभ्याउने गर्छ। तराईको ४० डिग्रीसम्म पुग्ने तापक्रमबाट राहत पाउन मानिसहरू यहाँ शरण लिन आउने गर्दछन् । यहाँको हावापानी, हरियाली डाँडाहरू, र खुला आकाशबाट देखिने सूर्योदय र सूर्यास्तका रमणीय दृश्यहरूले मानवीय थकान बिर्साउने गर्छ।

भेडेटार पुग्नका लागि धरानबाट झन्डै १६ किलोमिटर दूरी पार गर्नुपर्छ, जुन पक्की सडकले जोडिएको छ। बाटोमा हरियाली डाँडाहरू र घुम्तीको रमाइलो यात्राले पर्यटकको मन लोभ्याउँछ। यतिमात्र हैन, भेडेटारबाट कञ्चनजङ्घा, मकालु लगायतका हिमश्रृंखलाहरू समेत हेर्न सकिन्छ, जुन विशेष गरी खुलेको मौसममा झनै स्पष्ट देखिन्छ।
भेडेटारको अर्को विशेषता अहिले यहाँको स्काई वाक (कांच)को बाटो रहेको छ । यहाँ बाट हजारौं फिट तलसम्मको दृश्यावलोकन गर्ने अनुभव यहाँ आउने पर्यटकको लागि अविस्मरणीय रहनेछ । स्काई वाक बनिएपछि यहाँको पर्यटकीय महत्व झनै बढेको छ। साथै, नजिकैको नमस्ते झरना, नाम्चे र धनकुटा बजार पनि घुम्न आउनेहरूको गन्तव्य बनेका छन् ।

भेडेटारका होटल तथा पर्यटन व्यवसायी लिलाराज लावतीका अनुसार, गर्मीयाममा दैनिक ५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भेडेटार पुग्ने गरेको बताउनु हुन्छ । उहाँले भन्नुभयो,“यहाँका होटल, होमस्टे, रेष्टुरेन्टहरू पर्यटक सेवा–सुविधाले यस क्षेत्रको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको छ।”
पर्यटकहरूका लागि यहाँ बसोबास, खाना, तथा मनोरञ्जनको राम्रो व्यवस्था छ। स्थानिय संस्कृति, लोकगीत–संगीत, परिकार, र आत्मीय स्वागतले भेडेटारलाई अझ विशेष बनाएको पर्यटन व्यवसायी लावतीको भनाई छ ।
यस्तै, पूर्वाधार विकास र प्रवद्र्धनले गर्दा भेडेटारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई अब्बल गन्तव्यको रूपमा उभ्याउने सम्भावना बोकेको छ।
गर्मीयाममा मानिस लाई राहत दिने थलो बनेको भेडेटार,गर्मीको समयमा मात्र होइन, वर्षभरि नै घुम्न लायक क्षेत्रका रूपमा भेडेटारले आफूलाई स्थापित गर्न थालेको छ।




















