इटहरीः  कनेक्ट आई.पि.एस ह्याक गरी सेवाग्राहीको १३ लाख बढि रकम चोरी भएको छ । शुक्रबार राती ८ बजेको समयमा सेवाग्राही उमनाथ खतिवडाको दुई वटा बैंक खातामा रहेको १३ लाख ५० हजार रकम हयाकरले कनेक्ट आइ.पि.एस मार्फत चोरी गरेका हुन । 

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ निवासी खतिवडाको विराटचौक शाखामा रहेको प्राइम बैंक र नेपाल बैंक लिमिटेडको खाता बाट रकम चोरी भएको हो । 

ह्याकरले खतिवडाको प्राइम बैंकमा रहेको बचत खाता नम्बर ०३६०१००००००००४८२०१५७ र नेपाल बैंक लिमिटेडको २५३०४००७२९३६६३०००००९ खाताबाट तीन वटा फरक बैंक खातामा रकम ट्रान्सफर गरेका छन् । 

शुक्रबार राती ८ बजेको समयमा रकम ट्रान्सफर भएको म्यासेज आएपछि आश्चर्यमा परेका खतिवडाले राती नै इलाका प्रहरी कार्यालय इटहरीमा खाताबाट रकम चोरी भएको उजुरी दिएका छन् । 

खतिवडाको उजुरीका आधारमा अनुसन्धानलाई अगाडी बढाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

ह्याकले खतिवडाको कनेक्ट आई.पि.एस ह्याक गरी प्राईम बैंकको खाताबाट माछापुच्छ्रे बैंकको खाता नम्बर ०२७०९९७५०४५०००१५ मा ११ लाख रकम ट्रान्सफर गरेका छन् । 

 यस्तै नेपाल बैक लिमिटेडको खाताबाट नविल बैंकको खाता नम्बर २०११००१७५०३९७० मा २ लाख र सिद्धार्थ बैंकको खाता नम्बर ५५५०८८३०७३० मा ५० हजार रुपैयाँ ट्रान्सफर गरेको देखिएको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिए । यी खाताहरु कस्को हो भन्ने यकिन हुन सकेको छैन । 

घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा ह्याकरले रकम ट्रान्सफर गरेको बैंकका खाता रोक्का गर्न सम्बन्धीत बैंकलाई पत्र पठाइएको भण्डारीले बताए । 

यता, खतिवडाले पैसा चोरी भएपछि सम्बन्धीत बैंकमा सम्र्पक गर्दा बैंकले कुनै स्पष्ट जवाफ नदिएको गुनासो गरेका छन् । आफुले कुनै पनि ओटीपी पासवर्ड कसैलाई नदिएको उनले जिकिर गरेका छन् ।

‘मैले न पासवर्ड दिएको छु, न कोड पठाएको छु, कसरी पैसा गायव भयो?” उनले आक्रोश पोख्दै भने, ‘ यो बैंकको सिस्टमको कमजोरी हो । मेरो खाताको पैसा असुरक्षित छ ।’ 

पासवर्ड बिना पैसा ट्रान्सफर हुनु बैंकको सुरक्षा प्रणालीकै कमजोरी भएको खतिवडाले बताए । 

आज शनिबार भएकाले बैंकसँग थप कुराकानी हुन नपाएको उनले बताए । अनुसन्धान अगाडी बढाएको प्रहरीले आइतबार बैंक खुलेपछि रकम ट्रान्सफर भएका बैंकको विस्तृत विवरण प्राप्त भएपछि थप कुरा स्पष्ट हुने बताएको छ ।