इटहरीः इटहरीको मुख्य बजार क्षेत्रमा रहेको व्यवसायीक भवन सेन्टर प्लाजामा गएको बुधबार भएको आगोलागी घटनामा उद्धारगर्ने एक सुरक्षाकर्मीको चर्चा छ । भवनको भित्तामा डोरीमा झुण्डीएर उद्धारमा खटिएका सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका सहायक हवल्दार भरत काफ्ले हुन् । आगोमा फसेका एघारजना मध्ये काफ्लेले पाँच जनाको उद्धार एक्लैले गरे । 

आगोको लहरमा फसेका मानिसहरूको उद्धार गर्न डोरीको सहारा लिएर भवनको पूर्वी भागको भित्ताबाट काफ्ले चढे । जब,बहादुरीका साथ उनले माथि चढ्न थाले, त्यतिबेला आगो तीव्र गतीमा बल्दै थियो । काफ्लेले भने, “माथिबाट मानिस हामफाल्छु भनेपछि म भावुक भएँ, अनि आँफै अघी बढेँ ।” यो क्षण उनको लागि अत्यन्तै चुनौतीपूर्ण थियो। आगोको गर्मी र धुवाँले गर्दा दृश्यता कम भएको थियो, स्थिति निकै भयावह थियो। उनले भने , “यदि म माथी चढ्न ढिला भएको भए, यो घटना अझै गम्भीर हुन सक्थ्यो।”

उद्धारको क्रममा काफ्लेले बिपद व्यवस्थापन तालिमको अनुभवलाई उपयोग गरको बताए । उनले भने, “बिपत्ताका बेला मैले सिकेका पाठहरू कार्यान्वयन गर्न पाउँदा गर्व महसुस गरेको छु ।” काफ्लेको साहस र निर्णय क्षमताले ती पाँच जनालाई सुरक्षित स्थानमा पुर्याउन सफल भए । उनले केवल एक पेशागत जिम्मेवारी मात्र पुरा गरेनन्, मानवीय मूल्य र दायित्वको प्रदर्शन समेत गरेर चर्चा कमाएका छन् । 

 finn

काफ्ले उदयपुर गढी —६ निवासी हुन् । उनि ९ वर्षदेखि सशस्त्र प्रहरी बल पकलीमा कार्यरत छन्। काफ्लेले भने, “एउटा प्रयासले मानिसको जीवन बचाउन पाउँदा हर्षित भएको छु।”

विपद्मा सही निर्णय र तिव्र प्रतिक्रिया आवश्यक हुन्छ। काफ्लेले देखाएको साहस र समर्पणले पाँच जनाको जीवन बचायो, जसले समाजमा एक सकारात्मक सन्देश फैलाएको इटहरी नागरीक समाजका पुर्व अध्यक्ष राजु केसीले बताउनु भयो । उहाँले भन्नु भयो , “भरत काफ्ले जस्ता व्यक्तिहरूको योगदानले हाम्रो समाजलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। उनी एउटा प्रेरणा हुन्, जसले हामीलाई सधैं याद दिलाउँछन् ।  संकटको समयमा पनि एक व्यक्ति आफ्नो साहस र परिश्रमबाट अरूको जीवनमा परिवर्तन ल्याउन सक्छ।”

काफ्ले देखाएको साहसको अहिले इटहरीमा चर्चा छ। काफ्लेले प्रस्तुत गरेको यो उदाहरण युवा पुस्ताका लागि पनि प्रेरणादायी बन्नेछ, जसले भविष्यमा यस्तै संकटहरूमा जुझ्न र मानवताको लागि काम गर्न प्रोत्साहित गर्नेछ ।