इटहरी : कृषि अनुसन्धान निर्देशनालय तरहरा, बागवानी अनुसन्धान इकाईका प्रमुख महाबिर लालदेवले किसानलाई आँपका बिरुवा जथाभावी नकिन्नको लागि सचेत गराउनु भएको छ । उहाँले भननुभयो, “आँपका बिरुवा सफलतापूर्वक हुर्कन र फल्नका लागि उपयुक्त माटो र मौसम आवश्यक हुन्छ, त्यसैले अनुसन्धान बिना बिरुवा रोप्न नहुने कुरामा जोड दिनु भएको छ।”
विशेषगरी मधेस प्रदेश र कोशी प्रदेश आँपका लागि उपयुक्त माने पनि, विभिन्न स्थानमा मौसम र माटोको भिन्नताले उत्पादनमा असर पार्ने प्रमुख लालदेवको भनाई छ । उहाँले किसानहरूलाई सस्तोमा आँपका बिरुवा पाउने बित्तिकै किन्न लालायित नहुन र पछि पछुताउने अवस्थाबाट बच्न आग्रह गर्नु भएको छ ।
लालदेवले बागवानीमा लामो समयदेखि आँपका बिरुवाको अनुसन्धान भइरहेको जानकारी दिनु भयो । उहाँले कुन स्थानमा कस्तो प्रकारको बिरुवा रोप्ने निर्णय अनुसन्धानमार्फत मात्र गर्न सुझाव दिनु भएको छ । उहाँले भन्नुभयो,“ बिरुवाको लागी सर्बप्रथम बातावरण र माटो परिक्षण महत्वपुर्ण छ ।”
प्रमुख लालदेवले माल्दाह, अमरपालि, निलम, र बार्हमासे जस्ता विभिन्न आँपका प्रजातीहरूको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । सर्वसाधारणमा सबैभन्दा बढी रुचाइएको आँपको प्रकार माल्दाह रहेको उहाँले उल्लेख गर्नुभयो।
अहिले बागवानीमा पाँच सयभन्दा बढी आँपका बोट रहेको जानकारी दिँदै, उहाँले प्रत्येक वर्ष किसानलाई आँपका बिरुवा वितरण गर्ने प्रक्रिया पनि चलिरहेको बताउनु भएकोछ । यसरी, आँपको उत्पादन र गुणस्तरमा सुधार ल्याउनका लागि उचित योजना र अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ।




















