सोमबार एकै दिनमा २३ अर्ब २१ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार सोमबार साँझ ९स्३० बजेसम्म यो राजस्व संकलन भएको हो। योसँगै पुसमा संकलन हुने राजस्व १ खर्ब ६६ अर्ब रूपैयाँ पुगेको छ। सरकारले यो महिना एक खर्ब ७८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यको करिब ९३ प्रतिशत राजस्व संकलन भएको हो।
गत वर्ष पुसको तुलनामा २४ प्रतिशतले राजस्व बढेको छ। गत वर्ष यो एक महिनामा १ खर्ब ३३ अर्ब रूपैयाँ राजस्व उठेको थियो। पुस महिनालाई राजस्व संकलनका हिसाबले महत्त्वपूर्ण महिनाका रूपमा लिइन्छ। यो महिना सबभन्दा बढी आयकर संकलन हुन्। आयकर ऐनको व्यवस्था अनुसार पुसमा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ।




















