लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको छ। गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन सामान्य घटेको हो। हिजो अर्थात् बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो।




















