नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३४.८२ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले निरन्तरजसो नयाँ रेकर्ड बनाउँदै आएको हो । यसअनुसार सोमबार एक अमेरिकी डलरको विनिमय दर १३४.८१ रुपैयाँ थियो । मंगलबार सामान्य बढेर १३४.८२ रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद मूल्य १३४.४२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार ०८१ असार मसान्तको तुलनामा गत भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.४ प्रतिशतले अवमूल्यन भएको छ । गत वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १-२ प्रतिशतले अवमूल्यन भएको थियो । ०८१ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३३.९३ रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा उक्त विनिमय दर १३३.३६ रुपैयाँ थियो ।




















