२०७७ चैत २१ गते ।  अप्सरा भनिने जमुना बस्ताकोटी ललितपुरको लगनखेलस्थित घरमा एक्लै थिइन् । श्रीमान् हिक्मत श्रेष्ठ घर बाहिर थिए । प्रेम विवाह गरेका हिक्मत र अप्सराबीच विवाहको केही समयदेखि नै सम्बन्ध समधुर हुन सकेको थिएन ।

चैत २१ को बेलुका पनि श्रीमान् हिक्मतका लागि भनेर खाना बनाएकी थिइन् । तर, हिक्मतले त्यो राति खाना चिसो भएको भन्दै अप्सरासँग निहुँ खोजे । त्यसै निहुँमा विवाद भयो । विवादले उग्र रूपमात्रै लिएन, हिक्मतले भान्सा कोठामा भएको मट्टितेल अप्सराको शरीरभरी खन्याएर आगो नै लगाइदिए 

 चार वर्षपछि पक्राउ

श्रीमतीको हत्यापछि पनि हिक्मत पक्राउ परेनन् । प्रहरीले त्यतिबेला अप्सराको आत्महत्यालाई नै स्थापित गर्न खोजे । प्रहरीले त्यहीअनुसारकै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पठायो । तर, अप्सराको बुवा भक्तबहादुर निरन्तर छोरीको न्यायका लागि धाइरहे ।  

केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले पनि अप्सराको आत्महत्या नभई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई पुनः पत्राचार मात्रै गरेन्, पक्राउ पुर्जीसहित प्रहरीको पुरानो अनुसन्धान प्रतिवेदन फिर्ता नै गरिदियो ।

वकिल कार्यालयको पत्राचारपछि भने प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरको टोलीले हिक्मतलाई गएको शुक्रबार पक्राउ गरेको छ ।

जग्गाको कारोबार गर्दै आएका हिक्मतलाई प्रहरीको टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको कार्यालयका एसपी अंगुर जीसीले जानकारी दिए । हिक्मतविरुद्ध आइतबार ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान सुरु गरेको छ ।