पोखरा । पोखरामा आन्दोलनरत यातायात व्यवसायीले पत्रकारमाथि हातपात पनि गरेका छन् । पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण भएको हो । बिना पोखरा टेलिभिटन र सुरज गण्डकी भ्वाइसमा कार्यरत छन् । उनीहरूलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको छ । सूर्यबहादुर नेपाली, बुद्धिबहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको एसपी थापाले बताए ।

 विभन्न माग राख्दै गण्डकीका यातायात व्यवसायीले आइतबारदेखि सार्वजनिक सवारी सेवा ठप्प पारेका छन् । रातो नम्बर प्लेटलाई राइड सेयरिङको मान्यता दिने गरी सरकारले ल्याउन लागेको कार्यविधि खारेज गर्नुपर्ने उनीहरूको माग छ, जुन गण्डकीकै यातायात व्यवस्था ऐन, २०७६, नियमावली, २०८० विपरीत हो ।

सरकारले राइडिङ सेयरलाई पनि दर्ता गरेर सार्वजनिक सवारीको मान्यता दिने नीति ल्याएको छ । अन्य सवारी झैँ राइड सेयरिङमा दर्ता सवारीले पनि वर्षमा निश्चित रकम कर तिर्नुपर्छ । तर, यहाँका यातायात व्यवसायीहरू यसको विरुद्धमा छन् ।