इनरुवा : नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले आज इनरुवास्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयको अनुगमन गर्नुभएको छ।

जेनजी आन्दोलनका क्रममा एमाले पार्टी कार्यालयमा पुगेको क्षतिको स्थलगत अवलोकन गर्दै सभापति भण्डारीले यस्तो घटना दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो।

उहाँले आन्दोलनको नाममा केही तत्वहरू घुसपैठ गरी अस्थिरता सिर्जना गर्न खोजेको भन्दै सबैलाई सजग रहन र भड्किलो गतिविधिबाट विचलित नहुन आग्रह गर्नुभयो। “लोकतान्त्रिक आन्दोलन स्वाभाविक हो, तर त्यसको आडमा हिंसा र तोडफोड स्वीकार्य हुँदैन,” भण्डारीले भन्नुभयो।

सभापति भण्डारीसँगै निरीक्षणमा अन्य स्थानीय नेता तथा जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। सबै राजनीतिक दल र स्थानीय निकायहरूले संयमता अपनाउनु पर्नेमा भण्डारीले विशेष जोड दिनुभएको छ।