जेनजी समूहका अगुवा सुदन गुरुङ नेतृत्वको एक समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै गएराति यो समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रदर्शन गर्दै कार्कीको राजीनामा मागेको हो ।
आइतबार साँझ मन्त्री नियुक्तिको खबर सार्वजनिक भएको थियो । कार्कीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ, ओमप्रकाश अर्याललाई गृह र रामेश्वर खनाललाई अर्थ मन्त्रीमा नियुक्त गरेकी छन् । सुदन गुरुङ नेतृत्वको समूहले गृह मन्त्रालयमा भएको अर्यालको नियुक्तिमा आपत्ति जनाएको छ । गुरुङले आफूहले नेतृत्वमा पुर्याएकाले चित्त नबुझे थुतेर बाहिर ल्याउने चेतावनी दिएका छन् । उनले अहिलेको सरकार आफूहरूले बनाएको भन्दै जेन्जीलाई कसैले पनि रोक्न नसक्ने बताए ।
आफूहरूसँग परामर्श नगरी मन्त्री नियुक्त गरेकोमा उनले असन्तुष्टि जनाएका छन् । जेनजीको दुई दिने आन्दोलनपछि तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी थिइन् ।




















