इटहरी : पुर्वी तराईमा गर्मी बढे सँगै इटहरीका बजारमा भारतीय नरिवलले बजार पाएको छ । व्यवसायी रुपमा नेपालमा नरिवल खेती नहुँदा भारतीय नरिवलले बजार पाएको हो । 

स्वास्थ्यका लागि लाभदायक मानिने नरिवलपानी खानेको संख्या बढे सँगै यसको बिक्रीमा वृद्धि भएको छ । 

पानी भएको नरिवल बिक्री बढे सँगै भारत बाट नरिवल ल्याई बिक्री गर्ने गरेको इटहरी – ४ का ब्यापारी सुरज साह बताउँछन् । उनले दैनिक सय नरिवल बिक्री गर्ने गरेको बताएका छन् । एउटा नरिवल १३५ देखि १६० सम्म बेच्ने गरेको शाहा बताउछन् । उनले नरिवलको आकारले त्यसको दाम निर्धारण गर्ने बताए । शाह भन्छन् ,“दैनक नरिवल पानी खानेको संख्या बढ्दो छ, पानी धेरै भएको नरिवल ग्राहकले धेरै खोज्छन् । यस्तो प्रकारको नरिवल भारतमा मात्र पाउछ ।” 

उनले पछिल्लो समय नरिवल पानी खानेको संख्या ह्वात्तै बढेको बताए । कतिपय दैनिक ठेक्का गरेर खाने गरेको बताउछन् । गुदि भएको नरिवल भन्दा पानी भएको नरिवल धेरै बिक्रीहुने उनको भनाई छ  । 

अहिले इटहरीका प्रत्येक फलफुल पसलमा नरिवल बिक्रीका लागी रखिएको छ । इटहरी मात्र नभई धरान,इनरुवा,रामधुनी,दुहबी लगायतका सहरहरुमा प्रसस्तै भारतीय नरिवल देख्न सकिन्छ । 

नेपालका तराई क्षेत्रमा नरिवल पाए पनि यसको ब्यवसायिक खेती नहुँदा भारतिय नरिवलले बजार पाएको हो । नरिवल खेति कतिपय देशको अर्थ व्यवस्थाको मेरुदण्डसमेत  रहेको छ । 

भारत, श्रीलङ्का, फिलिपिन्स, इन्डोनेसियालीहरूले व्यवसायीक रुपमानै नरिवल खेतीगर्ने गरेका छन् । उनिहरुको जीविकाको श्रोत नै नरिवल खेती रहेको छ । 

स्वास्थ्य विशेषज्ञहरूले पनि नरिवलमा प्रोटिन, एमिनो एसिड र भिटामिन ’बी’को मात्रा प्रशस्त भएको बताउछन् । बिराट मेडिकल कलेजका फिजिसियन डा. देवराज घिमिरेले नरिवलको  पानी सँगै यसको फल(गुदी) पनी उत्तीकै लाभदायी बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ्,“एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइन्छ, यसले पेटको अल्सर, ग्यास्ट्रिक जस्ता रोगका लागि नरिवलपानि लाभकारी मानिन्छ ।” कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा पनि यसको सेवन फाईदाकारी छ । 

नरिवल धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिएको छ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ । यसलाई धार्मिक पूजामा पवित्र फलको रूपमा चढाइन्छ ।