इटहरी  : इटहरी उपमहानगरपालिका—९ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले  संसदीय अभ्यास गरेका छन् । विद्यार्थीहरूलाई प्रदेश सभाको कार्य प्रणाली र लोकतान्त्रिक प्रक्रियाको महत्व बुझाउन अभ्यास कार्यक्रमको आयोजना गरीएको हो ।  

कोशी प्रदेश सभा सचिवालयले आयोजना गरेको यस अभ्यासमा कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्ट र उप सभामुख सृजना दनुवारको पनि उपस्थिति रहेको थियो। 

कार्यक्रममा विद्यार्थीहरूले प्रत्यक्ष रूपमा संसदको बैठक जस्तै,विभिन्न पदमा रहेका व्यक्तिहरूको भूमिकामा अभिनय गरे । यस क्रममा उनीहरूले सांसदको जिम्मेवारी, निर्णय प्रक्रिया र बहसको महत्व बुझेकाछन् ।

IMG_3559

विद्यार्थीहरूले यस प्रकारको प्रत्यक्ष अभ्यासबाट धेरै ज्ञान हासिल गर्न पाएको  बताउँछन् । उनीहरूले शैक्षिक पाठ्यक्रममा मात्र सीमित नरही, व्यावहारिक अनुभवको महत्त्वलाई पनि अनुभव गरेका बताएका छन् । 

यस अवसरमा बोल्दै सभामुखको अभिनय गरेकी सुमित्रा तिवारीले भनिन्, “संसदको प्रक्रिया र तिनका चुनौतीहरूको बारेमा थाहा पाउँदा हामीलाई निकै खुसी लागेको छ। यसले हाम्रो भविष्यका लागि मार्गदर्शन गर्नेछ।” 

कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य र सिद्धान्तको विकास गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यस अभ्यासमा सहभागी हुने विद्यार्थीहरूले विभिन्न विधायिका प्रक्रियाहरूको बारेमा जानकारी प्राप्त गरे,उनीहरूले विधेयकको प्रस्ताव, छलफल र मतदान जस्ता महत्वपूर्ण चरणहरूको अनुभव गरेका छन् ।’ सभामुख बिष्टले विद्यार्थीहरूको लागि यस प्रकारको संसदीय अभ्यासले महत्वपुर्ण मुमिका खेल्ने बताउनु भयो । उहाँले,आगामी दिनहरूमा यस किसिमका कार्यक्रमहरूलाई थप प्रभावकारी र समावेशी बनाउनका लागि आवश्यक कदम चाल्ने जानकारी दिनुभयो ।    

IMG_3562

कार्यक्रममा करिब नब्बे जना विद्यार्थीहरूले सहभागीता जनाएका थिए । उनिहरुको उत्साह र चासोले यो कार्यक्रम सफल बनाएको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काँसिनाथ दंगालले बताउनु भयो । उहाँले, यस्ता कार्यक्रमले विद्यार्थीको  सोचमा स्पष्टता ल्याउने र निर्णय लिने क्षमतामा वृद्धि गर्ने अपेक्षा गरिएको जनाउनु भयो । 

कार्यक्रममा उप सभामुखको अभिनय बिनोद पाण्डेले गरे र मुख्यमन्त्री आयुस यादव बनेका थिए । अन्य विद्यार्थीहरु सभासद,मन्त्री र मर्यादापालक बनेका थिए । यसरी अभ्यास गर्न पाउँदा विद्याथीहरु हर्षित भएको बताउँछन् ।