इटहरी : इटहरी उपमहानगरपालिकाले आफ्नो नगरभरीका महिलाहरु लाई प्रारम्भिक परिक्षण र रोकथाम व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर संचालन गरेको छ । महिलामा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ्ग खस्ने समस्या र बाँझोपन जस्ता स्वास्थ्य समस्याहरुलाई लक्षित गर्दै इटहरी—५ मा आज (मंगलबार) एक दिने शिविर संचालन गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख दिनेश चौधरीले यस शिविरमा सहभागी महिलाहरुको लागि विभिन्न प्रकारका स्वास्थ्य परिक्षणहरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रयास महिलाहरुको स्वास्थ्यको बारेमा सचेतना फैलाउने र आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउने हो ।” प्रमुख चौधरीले शिविरमा दुई सय बढी महिलाले आफ्नो स्वास्थ्य परिक्षण गराएको जानकारी दिनुभयो ।

शिविरमा आएका महिलाहरुको लागि औषधी वितरण समेत गरिएको थियो, प्रमुख चौधरीले थप जानकारी गराउँदै भन्नुभयो, “हामीले यो शिविरमा रहेका महिलाहरुलाई स्वास्थ्य शिक्षा पनि प्रदान गरेका छौं, उहाँहरुमा भएको समस्या सहज रुपमा बताउन सक्नुहोस् ।”

उहाँले इटहरी उपमहानगरपालिकाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिनुभयो । शिविरले महिलाहरुमा स्वास्थ्यको क्षेत्रमा जागरूकता ल्याउने मात्र नभई, उनीहरुको स्वास्थ्य समस्याहरुको पहिचान र समाधानमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको उपमहानगरले जानकारी दिएको छ ।