इटहरी ।  पुर्वी नेपालमा गर्मी बढेसँगै बजारमा उखुको जुसको बिक्रीमा वृद्धि भएको छ । तराईमा तापक्रम बढ्न थालेसँगै इटहरी बजारमा उखुको जुस पिउनेहरुको संख्या बढ्न थालेको छ । 

यात्राका क्रममा बटुवा, बजारमा खरिदका लागि आएका उपभोक्ताहरुले बजारमा ठेलामा राखिएका उखुका जुस खाने गरेका छन् । 

बजारमा पाइने रेडिमेड पेयपदार्थको भन्दा स्वाथ्यका लागि लाभदायक भएकाले ठेलामा पेलेर बिक्रि गरिने उखुका जुस प्रति मानिसहरुको आकर्षण देखिएको हो । तराईका जिल्लामा गर्मीको समयमा विशेषगरी उखुको जुस लोकप्रिय मानिन्छ । 

इटहरी उपमहानगरपालिका स्थित बजार क्षेत्रमा भेटिएका स्थानीय व्यापारी सरोज शर्माले पछिल्लो केही दिन देखी उखुको जुसको बिक्रि बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गर्मी मौसम लागे सँगै उखुको जुसको माग धेरै बढेको छ । हामीले दैनिक चार सय देखी पाँच सय गिलास सम्म जुस बिक्री गरिरहेका छौं ।’ 

इटहरी उपमहानगरपालिका क्षेत्रमा २० जना ठेला व्यापारीले बजार क्षेत्रमा उखु पेलेर बिक्रि गर्ने गरेका छन । 

पछिल्लो समय उखुको जुसमा पुदिना,चिसो आइस हालेर थप स्वादिष्ट बनाउने गरेको उखु व्यापारी शर्माले बताउनुभयो । ‘पुदिना हालेको जुस मिठो हुन्छ । पुदिना हालेको जुस सबैले मन पराउँछन् ।’ शर्माले भन्नुभयो । 

ठेला व्यापारीले सुनसरी,मोरङ र धनकुटा लगायतका जिल्लाबाट उखु खरिद गरी ल्याउने गरेको अर्का ठेला व्यापारी विन्देश्वर शाहले बताउनुभयो । उहाँले गर्मी बढे सँगै दैनिक तीन देखी चार हजार सम्म कारोवार हुने गरेको जानकारी दिनुभयो । 

स्वास्थ्यका दृष्टिकोणबाट पनि उखुको जुसलाई फाइदाजनक मानिन्छ । बजारमा उखुको जुसको मूल्य पनि उपयुक्त रहेकाले लोकप्रिय बन्दै गएको छ ।