इटहरी । पुर्वी नेपालमा गर्मी बढेसँगै पूर्वका बजारहरुमा उखुको जुसको कारोबार बढ्दो देखीन्छ । स्वास्थको दृष्टिकोणले समेत लाभदायक भएकाले अन्य पेय पदार्थ भन्दा उखुको जुसतर्फ पछिल्लो समय सर्वसाधारण आकर्षित हुदै गएका छन् । बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने पेय पदार्थ भन्दा स्थानिय कृषकले उत्पादन गरेका उखुबाट जुस निकालेर कारोबार गरीदा स्थानिय कृषक र व्यवसायी प्रत्यक्ष लाभान्वित हुने गरेका छन् ।
पछिल्लो समय बढेको उखुको जुसप्रति सर्वसाधारणको आकर्षणले उखुको जुसको कारोबारमा ठूलो सम्भावना देखिन्छ तर परम्परागत रुपमा कारोबार हँुदा यसबाट कृषक र जुस व्यवसायीहरुले प्रसस्त लाभ लिन भने सकिरहेका छैनन् ।
सामान्य ठेलामा उखु पेल्ने मेसिन राखेर जुस बनाएर व्यवसायीहरुले कारोबार गर्ने गरेका छन् । यसबाट व्यवसायीहरुले दैनिक एक हजारदेखि पाँच हजार रुपँैयासम्म आम्दानी गर्ने गरेका छन् । जुसको व्यापार बढ्दा यसका व्यापारीहरु समेत बढ्दै गएका छन् । बढ्दो गर्मीसँगै उखुको जुस बेच्ने स्थानमा भिडभाड समेत बढ्न थालेको जुस व्यवसायी बताउछन् ।
पूर्वका सबै जसो बजारमा पहिलेको तुलनामा उखुको जुसको व्यापार निकै बढेको व्यवसायीहरुको भनाई छ । विशेष गरी जण्डिसको समस्या भएकाहरुका लागि निकै फाइदा कारक मानिएकाले पनि उखुको जुस पिउनेहरु बढ्दै गएका हुन् । हावाहुरीको समय र गर्मी पनि बढेकाले पानीमा संक्रमण हुने र जण्डिस हुने समस्या बढी हुने हँुदा पनि यो समय उखुको जुसको कारोबार बढेको हो । जुस व्यवसायी,स्वास्थका दृष्टिकोणले समेत लाभदायक भएकाले पहिलेको तुलनामा मानिसहरु अन्य पेय पदार्थ भन्दा उखुको जुसतर्फ बढी आकर्षित हुने गरेको वताउछन् ।
बहुराष्ट्रिय कम्पनीका पेय पदार्थका तुलनामा ताजा, स्वास्थको दृष्टिकोणले समेत फाइदाकारी र स्थानिय कृषक र स्थानिय व्यवसायीहरुलाई नै लाभ हुने हँुदा उखुको जुसको कारोबारले स्थानिय अर्थतन्त्रमा समेत फाइदा पुगिरहेको छ । यसलाई अझ व्यवस्थित र आधुनिक बनाउन सकिएको खण्डमा उखु किसान र जुस व्यवसायीलाई प्रसस्त लाभ हुने संभावना छ । तर व्यवस्थित रुपमा कारोबार नगरी परम्परागत कारोबार हुदा तुलनात्मक रुपमा उखु र जुस व्यवसायीले प्रसस्त फाइदा लिन भने सकिरहेका छैनन् ।




















