इटहरी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले भागबण्डाकाे नाममा बारम्बार काेशी प्रदेशलाई 'त्याग गर' भन्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले अब काेशी प्रदेश अन्य प्रदेशकाे सन्तुलन मिलाउने साधन बन्न नसक्ने स्पष्ट पारेका छन्।

लोकतान्त्रिक खेलकुद संघ काेशी प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै कोइरालाले कांग्रेसले विगतमा गठबन्धनको नाममा महत्वपूर्ण पद गुमाउँदै आएको उल्लेख गर्दै भने, "यसअघि प्रदेश खेलकुद परिषद्को सदस्य–सचिव पद गुमायौँ, अहिले फेरि भागबण्डाकाे नाममा बागमती सँग साटिने चर्चा सुनिँदैछ। पटक–पटक यस्ता सम्झाैता अब स्वीकार्य हुँदैन।"

उनले भने निरन्तर सम्झाैताको मार खेप्दै आएको कोशी प्रदेशका नेताकार्यकर्तामा असन्तोष चुलिँदै गएको छ, जसले आगामी राजनीतिक समीकरणमा गम्भीर असर पार्न सक्छ।

कोइरालाले पार्टीको केन्द्रीय अधिवेशनसमेत समयमै हुनुपर्नेमा जोड दिए, उनले भने, विभिन्न बहानामा अधिबेशन धकेलिनु हुँदैन । "भातृ संस्थाको अधिवेशन भइरहेछ, तर मुख्य पार्टीको अधिवेशन अलमलमा राख्नु गलत हुन्छ," उनले भने।

उनले सरकारको बहुमतको नाममा जुनसुकै निर्णय गर्न मिल्दैन भन्ने चेतावनीसमेत दिए। उनले उपसभामुख हटाउने विषयको संकेत गर्दै भने, "यस्ता निर्णयले पार्टीलाई गम्भीर क्षति पु-याउँछ। दुई ठूला दलकाे बहुमतले लथालिङ्ग निर्णय गर्दा लोकतन्त्र कमजोर हुन्छ।" 

उनले आज हुने अधिबेशनकाे कमिटी लाई शुभकामना दिदै संघले प्रदेश भरी गतिविधि गर्न सुझाव समेत दिएका छन् । 

आज भएकाे प्रथम अधिबेशनमा अध्यक्ष सहित २९ जना निर्वाचित भएका छन् ।